सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको कोशी प्रदेश अन्तर्गत तेह्रथुम एक पहाडी जिल्ला हो । पुरानो जिल्ला विभाजनको क्रममा यहाँको १७ वटा वरपरका थुम्काहरु मध्येका १३ वटा थुम्काहरुलाई समेटेर यो जिल्लाको नामाकरण तेह्रथुम राखिएको मान्यता रहेको छ । साविकको म्याङ्लुङ गा.बि.स. सहित तत्कालिन तम्फुला, साब्ला, आङ्बुङ, जिरीखिम्ती र पिप्ले गरी ६ गाउँ विकास समिति समेटेर बनेको यस नगरपालिकामा हाल १० वटा वडाहरु रहेका छन् । म्याङ्लुङ नगरपालिका नेपालको प्रदेश नं १ मा पर्ने १४ जिल्ला मध्ये सबै भन्दा सानो पहाडी जिल्लाको रुपमा तेह्रथुमको सदरमुकाम रहेको स्थान हो । अधिकांश पहाडी क्षेत्रले ढाकेको यस नगरपालिकाको केन्द्र वडा नं. २ को म्याङलुङमा पर्दछ । यस नगरपालिकामा हिन्दु, किँरात तथा बौद्ध धर्मालम्वीको बसोबास हुँदा सबैका आ–आफ्ना रीतिरिवाज रही आएका छन् । हिन्दुहरुले दशैं, तिहार, माघे पूर्णिमा, बैशाखे पुर्णिमा, किराँत जातिले उभौली, उधौली आदि मान्दछन् भने बौद्ध धर्मालम्बीहरुले ल्होसार, माने आदि चाडपर्वहरु मनाउँदछन् । लामा, पुरेत र धाँमी, झाँक्री प्रथाप्रति अगाध विश्वास राख्ने यहाँका बासिन्दाहरुमा हिन्दु र किराँत तथा बौद्ध धर्मको मिश्रित प्रभाव रहेको छ । यहाँका युवा युवतीहरुको आधुनिक भेषभूषामा जस्तै सर्ट, पाइन्ट, ज्याकेट, कुर्ता सुरुवाल लगाउछन् ।
म्याङ्लुङ नगरपालिका प्राकृतिक साधन सतही तमोर, खोरुङा, ताङमाया, पिगुवा जलभण्डारले सम्पन्न रहेको छ । अलैची ढाका कपडा, व्यापार तथा खाध्यान्न यहाँको प्रमुख आर्थिक श्रोत हुन । सल्लो, चिलाउने, उतिस, पात्ले,साल यहाँ पाइने प्रजातिका रुखहरु प्रशस्त छन् । केहि प्रजातिका जडीबुटीहरु पनि यहाँको वन क्षेत्रमा उपलव्ध रहेको छ । यसैगरी नेपालको “चिया क्षेत्र” मा पनि पर्ने यो जिल्लामा हाल मुख्य रूपले बेमौसमी तरकारी, अदुवा, चिया, दुध, अकवरे खुर्सानी, सुन्तला, कागती तथा औषधीजन्य तथा बहुमुल्य जडीबुटी, अम्रिसो अलैंची लगायतका नगदे बालीहरू पनि लगाइन्छ ।
म्याङलुङ नगरपालीका पुर्वी नेपालको पहाडी क्षेत्र तेह्रथुम जिल्लाको मध्य भागमा अवस्थित नगरपालिका हो । । उत्तरतर्पm उच्च पहाडि डाँडा रहेको छ भने दक्षिण तर्फ क्रमशः पहाड होचो भएर गई तमोर नदिमा गएर टुंगिएकोछ । यसले गर्दा गर्मी देखी चिसोसम्को हावापानी, दक्षिण तर्फको सुख्खा क्षेत्रबाट क्रमशः उत्तर तर्फ जाँदा चिस्यान र पानी भएको क्षेत्र पर्दछ तर करीव दुईतिहाई भुभाग सुख्खाग्रस्त रहेकोछ । कूल १००.२१ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ । भौगोलिक रुपमा यो नगरपालीका २७ डिग्री ४ मिनेट उत्तर देखि २७ डिग्री १३ मिनेट उत्तरी अक्षांशमा र ८७ डिग्री २७ मिनेट पूर्व देखि ८७ डिग्री ३७ मिनेट पूर्वी देशान्तरबीच फैलिएको छ ।
इतिहासमा उल्लेखित लिम्बुवान क्षेत्रमा पर्ने यो जिल्ला लिम्बु जातिहरूको बाहुल्यता भएको जिल्लामा पर्दछ । यसको नामाकरणमा पनि लिम्बु जातिमा प्रचलित भाषाको भूमिका रहेको स्वतः अड्कल काट्न सकिन्छ । साबिकको म्याङ्लुङ गा.बि.स.को वडा नं. १ मा रहेको प्रशिद्ध सिंहबाहिनी मन्दिर रहेको स्थानमा १ जना भरीया भारी बिसाएर आराम गरी खाना पकाइरहेको अवस्थामा साबिकको वडा नं. ९ मा पर्ने खुर्कुटे आहाल भन्ने स्थानबाट बिरालो म्याउ म्याउ गर्दै आइरहेको र बिरालाले बढी दुःख दिएको र यो व्यवहार देखि दिक्क भएका भरियाले उक्त बिरालो काट्न लाग्दा खुुकुरी ढुंगामा लागेको र बिरालो त्यही अलप भएकोले यो कुनै सामान्य परिघटना नभई दैवि शत्तिको कारणले मात्र त्यस्तो हुन गएको र यहाँ देवीको स्थापना गर्नु पर्छ भन्ने धारणाबाट मन्दिर स्थापना गरिएको किंम्वदन्ति रहेको छ ।
लिम्बु भाषामा ढुंगालाई “लुङ्ग” बिरालोलाई “मेयङ” भनिने गरिन्छ । उक्त बिरालो म्याउम्याउ लाई जोडेर काटिएको “ढुंग” स्थानलाई “मेयङलु” भन्दै कालान्तरमा म्याङ्लुङ भएको बुझिन्छ । यसका साथै सोहि घटना अर्थात भरिया खाना पकाइरहँदा खाना पाक्न ढिलाई भएको र खाना पकाउन बनाइएको ओदानमा प्रयोग गरिएको ढुङ्गा थरथर हल्लिने गरेको र सो हल्लाईको कारण भाँडावाट पानी छचल्किएर आगो निभ्न लाग्ने र लामो समयसम्म आगो बाल्दा पनि खाना पाक्न नसक्दा उक्त भरियालाई रिस उठी ओदान बनाइएको ढुंगालाई खुकुरीले काटेको र त्यसरी काट्दा ढुंगाबाट रगत निस्केको देखेपछि यो असामान्य घटना होइन यो दैवि शक्तिको कारणबाट मात्र सम्भव भएको हुनु पर्दछ भनी देविको थान खडा गरी कालान्तरमा काटिएको ढुंगाको नामवाट म्याङ्लुङ नामाकरण भएको उक्ति समेत प्रचलित रहेको छ ।